Friday, May 17, 2013

मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ! (तस्वीरसहित)

३ जेठ, काठमाण्डौं । मदन भण्डारीको रहस्यमय निधन भएकोधेरै वर्षपछि उहाँको
जीवनीलाई अझै गहिरोबाट नियाल्न कवि अनिल पौडेल गाउँ पस्नुभयो । भण्डारीको
जन्मघर, हुर्केबढेको र खेलेको गाउँ, भूमिगत बेला लुक्ने र पार्टी काममा
लागि हिँड्ने सबै ठाउँ चाहार्नुभयो । १६ महिना लगाएर 'तस्बिरमा मदन
भण्डारी'नामको पुस्तक प्रकाशित भयो ।
पुस्तकका लागि मोरङका गाउँगाउँ पुग्दा पौडेलले भण्डारीलाई माया गर्ने
धेरैजना भेट्नुभयो । उनीहरुका गुनासा र दुखेसो पनि प्रशस्तै थिए । जसलाई
पौडेलले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ :
· यो काम १५ वर्षअघि हुनुपथ्र्यो, कहाँ निदाएको थियौ ?
· किन चाहिएछ पार्टीलाई मदन भण्डारी यतिबेला ?
· एमाले सत्ताबाट फ्याँकिएछ कि क्या हो, मदन भण्डारी पो खोज्दै आयौ त ।
· हैन, हत्यारो चैं पत्ता नलाग्ने नै भो ?
· साँची, मदनका छोराछोरी कति अरे ? केके गर्दै छन् हँ ?
· म त नागरिकताको टोली पो आएको रैछ भन्थें, खत्तम भइगो नि ! आफ्नो सानो काम थिएन ।
· मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ?
· खै, सत्तामा पुगेपछि बिर्सिहाल्छन्, फ्याँकिएपछि दासढुंगाका कुरा
गर्छन् । यो दासढुंगा पनि कहिल्यै नबिर्सिने गीत हुने भो ।
· विद्याको के छ खबर ? चिन्छौ ? ज्यान मार्ने रोग लाग्यो भन्थे । निकी
भइन् पनि भन्थे । यसो गाउँतिर पनि जाऊ अरे भनिदेऊ न है ?
· पार्टीले सुरक्षा गरेको भए त्यत्रो घटनै हुने थिएन । अरुतिर चोरीऔंले
तिखारेर के गर्नु ?
'के साँच्चै तिमी हाम्रो नेतालाई किताबमा लेखेर फर्काइदिन सक्छौ ? भन्ने
प्रश्नमा आफूले मौन सम्मति जनाएर टाउको हल्लाएपछि उनीहरुले काठको दराज
खोले, टिनको बाकस उघारे र भएभरका सामग्रीहरु थुपारिदिए' पौडेलले पुस्तकमा
उल्लेख गर्नुभएको छ ।
मदन भण्डारीलाई होर्डिङ बोर्ड बनाए
मदनलाई नजिकबाट चिनेका र उहाँको जीवनीलाई तस्बिर सहित पुस्तकमा उल्लेख
गरेका पौडेले भन्नुहुन्छ-मदनलाई अहिले पार्टीले होर्डिङ बोर्ड जस्तो
बनाएको छ । 'मदन भण्डारीलाई ठूलो होर्डिङबोर्ड बनाएर त्यसको छायामा
बसिरहेको छ अहिले उहाँको पार्टी' पौडेलले अनलाइनखबरसित भन्नुभयो ।
अहिलेका नेताहरुमा जस्तो मदनमा भूमिगत जीवन र पछिको खुला राजनीतिमा कुनै
परिवर्तन नदेखिएको उहाँको बुझाई छ । 'मदन चाहिँ जुन नर्सरीमा
हुर्कुनुभयो, त्यो नर्सरीबाट ठूलो पार्टीमा आएर नेता हुँदा पनि केही फरक
देखिएन । जे बोल्नुहुन्थ्यो, त्यो गरेको देखियो । आर्थिक रुपमा कसैले
प्रश्न उठाएको देखिएन । व्यवहारिक पक्ष र चरित्रमा समेत कसैले प्रश्न
उठाएको देखिएन । सरलपन देखियो । जनताले जे गर्छन्, त्यसमै भिजिहाल्ने गुण
। जनताले थाहा नपाइकन आफ्नो कुरा सिकाइदिने गुण थियो उहाँमा' पौडेलले
स्मरण गर्नुभयो ।
पौडेलले संकलन गरेका तस्वीरहरू :http://www.onlinekhabar.com/2013/05/71718/

Wednesday, May 15, 2013

आहा, कति राम्रो तिनाउ खोला ! (फोटो फिचर)

लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये तराइका तीन जिल्ला रुपन्देही, कपिलवस्तु
र नवलपरासीमा गर्मीले सर्वसाधरणको दैनिकी बढी नै प्रभावित हुने गर्छ।
बाँकी तीन पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँची भने शीतल जिल्ला
मानिन्छन्।
गर्मी बढेसँगै तराईका तीन जिल्लाबाट पहाडका तीन जिल्लामा शीतलता पाउन
मानिसहरू आकर्षित हुने गर्छन्। लुम्बिनीका प्रमुख दुई ठूला शहर बुटवल र
भैरहवाबाट गर्मीको राहत खोज्दै पाल्पामा आउनेहरू बढेका छन्। गर्मी याममा
पाल्पामा आन्तरिक पर्यटक बढ्ने गरेका यहाँका होटल व्यवसायीहरू बताउँछन्।
गज्जब त के छ भने बुटवलबाट सवारीमा पाँच मिनट पाल्पातर्फ उक्लने बित्तिकै
शीतल महसुस हुन्छ। सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड क्षेत्रका
होटल एवं रिसोर्टहरूमा तराई क्षेत्र र भारतीय सिमा क्षेत्रबाट आउने
पर्यटक खचाखच देखिन्छन्। यस क्षेत्रका खोला नाला र वन जंगलमा शीतल खोज्दै
आउनेहरू बाक्लै भेटिन्छन्।
गर्मी छल्नका लागि सिद्धार्थ राजमार्ग आसपासबाट बग्ने तिनाउ खोला गन्तव्य
बनेको छ। बुटवल र भैरहवाबाट युवाको ठूलै जमात तिनाउ खोलामा पौडी खेल्न र
वनभोज खान आउने गर्छन्। पाल्पा बुटवल सिमानाको सिद्धबाबा नजिकै तिनाउ
ड्याममा सबैभन्दा बढी भीड जुट्ने गर्छ। हेरौं नागरिकन्यूजकर्मी टेकनारायण
भट्टराइले खिचेका तस्विरहरू
-http://nagariknews.com/modules/mod_news_pro_gk4/cache/k2.items.cache.c8acd7ea9b8dd89aa305f168b456d7cd_Lnsp_223.jpg

Saturday, May 11, 2013

जेपी गुप्ताको नजरमा लोकमानसिंह ‘पालेको बाघ’

'प्रचण्डलाई अख्तियारले कारवाही गर्न सक्दैन'
२८ वैशाख, काठमाडौं । भ्रष्टाचारको मुद्दामा झण्डै एक वर्ष जेल बसेका
पूर्वमन्त्री जेपी गुप्ताले नवनियुक्त अख्तियार प्रमुख लोकमानसिंह
कार्कीलाई 'पालेको बाघ'को संज्ञा दिनुभएको छ । अदालतको सजायँ भोगिसकेर
पनि आफूलाई अख्तियारले फसाएको दाबी गर्न नछाडेका गुप्ताले अब
अख्तियारमाथि आफ्नो मात्रै नभई सबैको विश्वास हटेको दाबी गर्नुभयो ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक गुप्ताले अख्तियार कुनै पार्टी र
व्यक्तको जीवन समाप्त पार्न प्रयोग हुने गरेको बताउनुभयो । अनलाइनखबरसँग
कुरा गर्दै गुप्ताले भन्नुभयो-'अख्तियार एउटा यस्तो निकाय हो, जसमा आफ्नो
खटन-पटन मान्ने मान्छेलाई पठाउन सकियो भने कुनै पनि पार्टीको जीवन समाप्त
पार्न सक्दोरहेछ ।'
लोकमानलाई अख्तियार प्रमुख बनाउनुको कारणबारे बताउँदै गुप्ताले
भन्नुभयो-'लोकमान ल्याउनुको कारण प्रतिरक्षा र प्रत्याक्रमण हो । उनलाई
ल्याउनेहरुले आफ्नो प्रतिपक्षा हुन्छ भनेर ल्याएकाहुन् र अरुलाई
सिध्याइन्छ भनेर पनि ल्याए । प्रचण्डको मात्र हैन, सबैको नियत यही हो ।'
लोकमानलाई पालेको बाघको संज्ञा दिँदै उहाँले उनले आफूलाई नियुक्त
गर्नेहरुको निर्देशन मान्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो- 'यो पालेको
बाघ हो । त्यसैले लोकमानलाई ल्याउनु भनेको बाघ पाल्नु हो । यसले
निर्देशनमा खान सक्छ ।' लडाकू शिविरको भ्रष्टाचारमा प्रचण्डविरुद्ध
अख्तियारमा मुद्दा रहेकै अवस्थामा प्रचण्डले नै सिफारिस गरेका कार्कीले
कारवाही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-'जुन मान्छेउपर
संवैधानिक निकायमा उजुरी परेको छ र छानविन हुनुपर्ने हो र दलहरुले
छानविनको माग गरेका छन्, त्यहाँ उसैको सिफारिसबाट नियुक्त भएकाले उसैमाथि
कसरी कारबाही गर्छ ?'
यसअघिका अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको कार्यकालमा पनि यस्तै भएको
उहाँको दाबी थियो । 'सूर्यनाथ उपाध्यायको समयमा एमालेका ठूला नेताहरुमाथि
पनि उजुरी परेको थियो । तर, कारबाही भएन' उहाँले भन्नुभयो- 'किनभने
सूर्यनाथले उनीहरुको प्रतिरक्षा गरे ।'

हरिद्वार गएका हजुरबा हराए

२८ बैशाख, काठमाडौं । तीर्थ गर्न भारत गएका धादिङ नलाङका बृद्ध
हरिद्वारबाट बेपत्ता भएका छन् । नलाङ ६ बुङचुङ निवासी अन्दाजी ७५ वर्षीय
यमनाथ तिमिल्सिना शुक्रबारदेखि बेपत्ता हुनुभएको हो ।
'हरिद्वारमा श्राद्ध गरेर फर्कने क्रममा उहाँ हराउनुभएको हो' सँगै तीर्थ
गएका उहाँका भतिजा टंकनाथ शर्मा तिमिल्सिनाले अनलाइनखबरलाई जानकारी
दिनुभयो-'बा हराए लगत्तै यहाँको स्थानीय प्रहरीमा जाहेरी दिएका छौं, तर
अहिलेसम्म पत्तो लागेको छैन ।'
हराएका बृद्धको खोजी गर्न त्यहाँ रहेका नेपालीहरुसँग पनि सम्पर्क भैरहेको
अर्का भतिजा रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । नीलो टिसर्ट, ढाका
टोपी, सुरुवाल र चप्पल लगाएका बृद्धलाई भेटेमा ९१९८३५२२६८८० वा
९१७४०९८८९९६७ वा ९१८२६६९९००९५ मा सम्पर्क गर्न आफन्तजनले अनुरोध गरेका
छन् ।
सँगै गएका बृद्ध हराएपछि अरु तीर्थयात्री हरिद्वारमै अलपत्र भएर बसेका
छन् । चार धाम तीर्थयात्राको लागि धादिङ नलाङबाट अघिल्लो हप्ता ५०
जनाभन्दा बढीको टोली भारततर्फ गएको हो । मथुरा हुँदै हरिद्वारबाट बदि्र,
केदार जाने क्रममा बृद्ध यमनाथ बेपत्ता हुनुभएको हो ।

सर्वोच्चका ‘जोगी’ हेलीकोप्टर चढेर बाबाधाम !

कामु प्रधानन्यायाधीशले गरे पूर्वराजाको नक्कल
२८ वैशाख, काठमाडौं । जंगल छेउमा सेतै फुलेका वृद्ध दौरासुरुवालमा सजिएर
नांगो डाँडामा मुस्किलले उकालो चढिरहेका छन् । छेउमा सेतो जुत्ता
टल्काएका तालुखुइले भद्र भलाद्मी पनि पछिपछि छन् । झोला भिरेका एक युवाले
दाह्रीवालतर्फ चोर औंलो देखाइरहेका छन् । पछाडिपट्टि प्रहरी अधिकारी र
सेनाको टुकडीसमेत हेर्दा लाग्छ यिनी कुनै राजा, महाराजा नै हुन् । तर, यो
भिआइपी सवारी न कुनै राजाको हो, न राज्यको कुनै प्रशासनिक काममा खटिएको
हो ।
दुईसाता अघि कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश
रामकुमारप्रसाद साह स्वामी खप्तड बाबाको आश्रम जाँदाको दृश्य हो । झोला
बोकेर बाटो देखाउने व्यक्तिचाँहि सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त
रावल हुन् । राज्यको पहुँचमा हेलीकोप्टर चढेर खप्तड पुगेको दुई
न्यायाधीशसहितको यो टोली त्यहाँ कुनै न्याय निसाफ गर्न गएको होइन । कामु
प्रधानन्यायाधीश शर्माको नेतृत्वमा तीर्थ ब्रतमा निस्किएको टोलीले नेपाली
सेनाको हेलीकोप्टर प्रयोग गरेको थियो । विगतमा पूर्वराजा ज्ञानेन्द्रले
पनि यसैगरी मन्दिर डुल्न जाँदा सेनाको हेलिकोप्टर प्रयोग गर्थे ।
लोकमानको भर छ, शर्मालाई केको डर छ ?
कायम मुकायम प्रधानन्यायाधीश शर्मा तिनै व्यक्ति हुनुहुन्छ, जसले केही
दिनअघिमात्रै लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
प्रमुखमा सपथ खुवाउनुभएको छ । सपथपछि आरुबारीस्थित आफ्नो 'कुटी'मा
शर्माले लोकमानलाई भव्य भोजसमेत खुवाउनुभएको समाचार केही पत्रिकाले
छापेका छन्, जसको अदालतले अहिलेसम्म खण्डन गरेको छैन । सेनाको हेलीकोप्टर
चढेर तीर्थब्रत गरेको खर्चको स्रोतबारेअहिलेसम्म कसैले चर्चा गरेको छैन ।
आफैंले सपथ र भोज खुवाएको अख्तियारले शर्माको खर्चबर्च खोज्ने पनि कुरो
भएन ।
वनदेवी मन्दिरमा अर्धनग्न
पहिले क्षेत्रपाटी घर भई हाल आरुबारीमा बस्दै आउनुभएका लामिछानेथरका कामु
प्रधानन्यायधीश शर्मा बालब्रह्मचारी हुनुहुन्छ । नाताले भतिज पर्ने एक
अधिवक्तालाई धर्मपुत्रका रुपमा राख्नुभएका शर्मा ब्रह्मचारीमात्रै नभएर
सच्चायोगीसमेत हुनुहुन्छ ।
आफ्नो निवासमा देश विदेशका हिन्दू गुरुहरुको भिडभाड हुने गरेको र आफै पनि
सन्त भएकाले शर्माले तीर्थब्रतमा ननिस्किने कुरै भएन ।यसअघि बाराको
इनर्बाशिरा वनदेवी मन्दिरमा त झनै कामु प्रन्या शर्माको रुद्राक्षको माला
लगाएको अर्धनग्न स्वरुपैदेख्न पाइएको थियो ।
जोगीले चलाएको अदालत कस्तो होला ?
कार्यालय समयमा दाह्री कोरेर अदालत जाने अनि अरुसमय धार्मिक काममा खर्च
गर्ने शर्माका लागि अदालतमा निकै ठूला चुनौतिहरु छन् । खिलराज रेग्मीले
सरकारको नेतृत्व लिने सहमति गर्नासाथ भक्तपुरमा भाषण गर्नेक्रममा अदालतको
स्वतन्त्रता जोगाउने खरो भाषणगर्नुहुने शर्माप्रति नेपाल बार एसोसिएसन र
पत्रकारहरु त्यति विश्वस्त हुन छाडिसकेका छन् । कानून दिवसमा सर्वोच्चले
खेलेको भूमिका र पत्रकारलाई अदालतमा छिर्न रोक लगाइएको विषयले बार र
पत्रकार रुष्ट छन् । अझ पछिल्लो समयमा लोकमानलाई आरुबारीमा रात्रीभोज
खुवाएको घटनाले शर्माको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ । यसमा पनि
पूर्वराजाले जस्तो हेलिकोप्टर चढेर न्यायाधीशहरु मन्दिर डुल्न थालेपछि अब
सर्वोच्च अदालतले मुलुकलाई सुसासन देला भनेर कसरी पत्याउने ?
http://www.onlinekhabar.com/2013/05/69690/

Friday, May 10, 2013

यत्रो पैसा हालेर टिकट किन्छौ भनेपछि मलाई रिस उठ्यो

काठमाडौ, वैशाख २८ - २५ अप्रिल बिहीबार साँझ कार्यालयको काम सकेर भर्खरै
क्याम्पमा पुगेको बेला एउटा ल्यान्डलाइन नम्बरबाट पोखराका डिल्लीराम
पराजुलीलाई फोन आयो, 'बधाई छ, मिस्टर डिल्लीराम । तपाईंले एक मिलियन
अमेरिकी डलर जित्नुभयो ।'
यो खबर एक्कासि सुन्दा डिल्लीराम अक्क न बक्क भए । यो सूचना सुनाउने वा
नसुनाउनेमा आफैंमा अलमलमा परे । 'के गरुँ कसो गरुँ, कसलाई भनौं' जस्तो
भयो । कास्कीको गाउँमा घर भई पोखरामा बस्दै आएका ३७ वर्षीय पराजुलीलाई
यस्तो सूचना त्यति भरपर्दो लागेन । त्यसपछि तत्कालै लक्की ड्र गरेको कतार
डिउटी फ्रीको अफिसियल वेभसाइटमा राखिएको भिडियो हेर्न पुगे । 'जहाँ उनको
खल्तीमा भएको आफ्नो नामसहितको अर्धकट्टी नम्बर १९२२ देखाइरहेको थियो ।
छिनमै डिल्लीराम पराजुलीको नाम लेखिएको एक मिलियनको अमेरिकी डलर (पौने नौ
करोड रुपैयाँ) को चेक सार्वजिनक गरियो ।'
गत फेबु्रअरी १२ तारिख घर बिदामा जाने बेला कतार विमानस्थलस्थित डिउटी
फ्रीमा चिट्ठाको टिकट खरिद गर्ने बेला फिलिपिनी केटीले आफूमाथि गरेको
व्यवहार झल्झली सम्झना गरे । 'म्यानेजरहरूले टिकट लिने गरेकोर कहिल्यै
नपरेको बहस सुन्थें । डिउटी फ्रीबाट बच्चाहरूलाई चक्लेट किनिदिएर जाँदै
थिए,' उनले भने, 'सामुन्ने त्यही चिठ्टाको बिक्री भइरहेको देखें । टिकट
काउन्टरमा बसेकी फिलिपिनीलाई राहदानी देखाएर सोधपुछ गर्दा विश्वासै
गरिनन् । नेपाली भनेर होला, उल्टै तिमीलाई थाहा छ, यसको मूल्य ९ सय ५०
रियाल (२२ हजार ८ सय रुपैयाँ) पर्छ भनेर तर्‍साउन खोजिन् । यत्रो पैसा
हालेर टिकट किन्छौ भनेपछि मलाई मलाई रिस उठ्यो र एक हजार रियाल टेबुलमा
फालिदिएँ ।'
रिसको झोंकमा किनेको टिकटबारे उनले कसैलाई भनेका थिएनन् । घरबाट फर्केको
१० दिनमै उनले चमाकारीपूर्ण खबर पाए । त्यति धेरै रकम तिर्न सक्ने नेपाली
कतारमा काम गर्ने हो वा युरोप-अमेरिकामा काम गर्ने धनी नेपालीले
ट्रान्जिट आएर खरिद गरेको भन्ने विषयमा कतारमा बहसै चलेको पनि थियो ।
डिल्लीराम को वास्तविक विवरण सार्वजनिक नहुँदा पनि यो कुरा रहस्यमयी
बनेको थियो ।
पराजुली कतार आएको ११ वर्ष पुग्यो । यति लामो समयसम्म प्रवासमा बस्दा पनि
आर्थिक रूपमा दरिलो हुन सकेका थिएनन् । 'सानोमा बिहे भयो । भाइबहिनीहरूको
पढाइ, आफ्नो पारिवारिक हेरविचार गर्दागर्दै आधा जीवन बित्यो । धेरै
दुःखका दिनहरू बिताएँ,' विजेता घोषित भएको ११ दिनपछि कतारको मुन्तजा
भन्ने ठाउँमा भेटिएका पराजुलीले भने, 'जीवन अझै व्यवस्थित हुन सकेको छैन
।'
९ वर्षसम्म कतार बसाइ त्यति उपलब्धिमूलक हुन नसकेपछि स्वदेशमै गरिखान
फर्केका थिए । तीन वर्षसम्म स्वदेशमै रहेर पोखरा-सुनौली रुटमा गाडी हाले
। त्यो फस्टाउनुको सट्टा घाटामा गएपछि उनी पुनःकतार आए । पराजुली यहाँ
अल्मनाई कम्पनीमा प्रशासन सहायकको रूपमा कार्यरत छन् । यो पदमा पुगेको
धेरै भएको छैन । सुरुमा त ६ सय ५० रियाल तलबमा मेकानिकाल हेल्परको काम
गर्थे ।
एकजना सामान्य व्यक्ति रातारात सपनामा जस्तो एक्कासि करोडौंको मालिक
बन्दा कस्तो हुँदोरहेछ त ? 'यो मेरो लागि सरप्राइज हो,' उनले भने,
'जिन्दगीमा मलाई लकले फेभर गरेको थिएन । यसपालि भने ५ हजारजनामा आफू
निस्कनु भाग्यको लेखा रहेछजस्तो लागेको छ ।' हुन त त्यो रकम उनलाई हात
लागिसकेको छैन । 'अर्धकट्टी बुझाएको छु । कहिले हस्ताक्षर मिलेन भन्छ,
कहिले बैंकको पत्र, कहिले मुख्य कार्यालयको पत्र माग्ने, कहिले
दूतावासबाट घर-ठेगना र राहदानीको प्रमाणित गरेको पत्र लिएर आइज भन्छ,'
उनले भने, 'एकपछि अर्को प्रक्रिया देखाउँदा म हैरान छु ।'
यो प्रक्रिया सुन्दा र भोग्दा उनी आफैंलाई पैसा पाउने नपाउने विश्वास हुन
सकेको छैन । 'पहिले एक दुई दिनमै आउने रैछ भन्ने लागेको थियो । अहिले ५०
वटा कुरा गर्दाचाहिँ फुल डाउट लाग्न थालेको छ,' पराजुलीले भने, 'अन्य
मान्छेहरूले पनि फोन गरेका छन् भन्दै थिए । काम एकातिर छ । डिउटी एकछिन
छोड्न मिल्दैन ।'
पराजुली 'विजेता घोषित' भएपछि निकै तनावमा छन् । 'दिनहुँ साथीभाइबाट आउने
सयौं कलको जवाफ दिँदा दिँदाथाकिसकेको छु । अर्कोतिर लम्बेतान झन्झटिलो
प्रक्रिया अगाडि छ,' उनले भने, 'तँलाई पर्‍यो होइन । हामीलाई दिनुपर्छ
भनेर लुकाएको भन्छन् । सोधेकै सोध्यै गर्छन् । जवाफ मसँग हुँदैन । अनि
साथीभाइ रिसाउँछन् ।'
पराजुलीले रकम पाइनसकेकोले पैसा केमा लगाउने भनेर योजना बुनेका छैनन् ।
'केही सोचेको छैन । घरपरिवार हेर्नुपर्‍यो । सामान्य परिवारको मान्छे
भएकाले घरपरिवारको सुख शान्ति नै पहिलो प्राथमिकता हो । पैसा आएपछि कहाँ,
कसरी लगानी गर्ने भन्ने सोच्नुपर्ला ।'
यतिखेर उनलाई पहिलेको सामान्य जीवन नै उचित लाग्न थालेको छ । 'नाम आएको
भन्दा नआएको भए हुन्थ्योजस्तो लागेको छ । यति टाउको दुःखाइ छ कि यसको
सीमा नै छैन, एकदमै टेन्सन,' उनले भने, 'हजारजनाको हजारथरी कुरा
सुन्नुपर्छ । केही असुरक्षित पनि महसुस हुन्छ । सोच्दा सोच्दै कहिले त
दिमागै आउट हुन्छ कि जस्तो लाग्छ । यो तनाव लिनुभन्दा बरु पहिलेकै लाइफ
आनन्दकोथियो ।'