Saturday, May 11, 2013

सर्वोच्चका ‘जोगी’ हेलीकोप्टर चढेर बाबाधाम !

कामु प्रधानन्यायाधीशले गरे पूर्वराजाको नक्कल
२८ वैशाख, काठमाडौं । जंगल छेउमा सेतै फुलेका वृद्ध दौरासुरुवालमा सजिएर
नांगो डाँडामा मुस्किलले उकालो चढिरहेका छन् । छेउमा सेतो जुत्ता
टल्काएका तालुखुइले भद्र भलाद्मी पनि पछिपछि छन् । झोला भिरेका एक युवाले
दाह्रीवालतर्फ चोर औंलो देखाइरहेका छन् । पछाडिपट्टि प्रहरी अधिकारी र
सेनाको टुकडीसमेत हेर्दा लाग्छ यिनी कुनै राजा, महाराजा नै हुन् । तर, यो
भिआइपी सवारी न कुनै राजाको हो, न राज्यको कुनै प्रशासनिक काममा खटिएको
हो ।
दुईसाता अघि कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश
रामकुमारप्रसाद साह स्वामी खप्तड बाबाको आश्रम जाँदाको दृश्य हो । झोला
बोकेर बाटो देखाउने व्यक्तिचाँहि सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त
रावल हुन् । राज्यको पहुँचमा हेलीकोप्टर चढेर खप्तड पुगेको दुई
न्यायाधीशसहितको यो टोली त्यहाँ कुनै न्याय निसाफ गर्न गएको होइन । कामु
प्रधानन्यायाधीश शर्माको नेतृत्वमा तीर्थ ब्रतमा निस्किएको टोलीले नेपाली
सेनाको हेलीकोप्टर प्रयोग गरेको थियो । विगतमा पूर्वराजा ज्ञानेन्द्रले
पनि यसैगरी मन्दिर डुल्न जाँदा सेनाको हेलिकोप्टर प्रयोग गर्थे ।
लोकमानको भर छ, शर्मालाई केको डर छ ?
कायम मुकायम प्रधानन्यायाधीश शर्मा तिनै व्यक्ति हुनुहुन्छ, जसले केही
दिनअघिमात्रै लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
प्रमुखमा सपथ खुवाउनुभएको छ । सपथपछि आरुबारीस्थित आफ्नो 'कुटी'मा
शर्माले लोकमानलाई भव्य भोजसमेत खुवाउनुभएको समाचार केही पत्रिकाले
छापेका छन्, जसको अदालतले अहिलेसम्म खण्डन गरेको छैन । सेनाको हेलीकोप्टर
चढेर तीर्थब्रत गरेको खर्चको स्रोतबारेअहिलेसम्म कसैले चर्चा गरेको छैन ।
आफैंले सपथ र भोज खुवाएको अख्तियारले शर्माको खर्चबर्च खोज्ने पनि कुरो
भएन ।
वनदेवी मन्दिरमा अर्धनग्न
पहिले क्षेत्रपाटी घर भई हाल आरुबारीमा बस्दै आउनुभएका लामिछानेथरका कामु
प्रधानन्यायधीश शर्मा बालब्रह्मचारी हुनुहुन्छ । नाताले भतिज पर्ने एक
अधिवक्तालाई धर्मपुत्रका रुपमा राख्नुभएका शर्मा ब्रह्मचारीमात्रै नभएर
सच्चायोगीसमेत हुनुहुन्छ ।
आफ्नो निवासमा देश विदेशका हिन्दू गुरुहरुको भिडभाड हुने गरेको र आफै पनि
सन्त भएकाले शर्माले तीर्थब्रतमा ननिस्किने कुरै भएन ।यसअघि बाराको
इनर्बाशिरा वनदेवी मन्दिरमा त झनै कामु प्रन्या शर्माको रुद्राक्षको माला
लगाएको अर्धनग्न स्वरुपैदेख्न पाइएको थियो ।
जोगीले चलाएको अदालत कस्तो होला ?
कार्यालय समयमा दाह्री कोरेर अदालत जाने अनि अरुसमय धार्मिक काममा खर्च
गर्ने शर्माका लागि अदालतमा निकै ठूला चुनौतिहरु छन् । खिलराज रेग्मीले
सरकारको नेतृत्व लिने सहमति गर्नासाथ भक्तपुरमा भाषण गर्नेक्रममा अदालतको
स्वतन्त्रता जोगाउने खरो भाषणगर्नुहुने शर्माप्रति नेपाल बार एसोसिएसन र
पत्रकारहरु त्यति विश्वस्त हुन छाडिसकेका छन् । कानून दिवसमा सर्वोच्चले
खेलेको भूमिका र पत्रकारलाई अदालतमा छिर्न रोक लगाइएको विषयले बार र
पत्रकार रुष्ट छन् । अझ पछिल्लो समयमा लोकमानलाई आरुबारीमा रात्रीभोज
खुवाएको घटनाले शर्माको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ । यसमा पनि
पूर्वराजाले जस्तो हेलिकोप्टर चढेर न्यायाधीशहरु मन्दिर डुल्न थालेपछि अब
सर्वोच्च अदालतले मुलुकलाई सुसासन देला भनेर कसरी पत्याउने ?
http://www.onlinekhabar.com/2013/05/69690/

No comments:

Post a Comment