Saturday, May 11, 2013

जेपी गुप्ताको नजरमा लोकमानसिंह ‘पालेको बाघ’

'प्रचण्डलाई अख्तियारले कारवाही गर्न सक्दैन'
२८ वैशाख, काठमाडौं । भ्रष्टाचारको मुद्दामा झण्डै एक वर्ष जेल बसेका
पूर्वमन्त्री जेपी गुप्ताले नवनियुक्त अख्तियार प्रमुख लोकमानसिंह
कार्कीलाई 'पालेको बाघ'को संज्ञा दिनुभएको छ । अदालतको सजायँ भोगिसकेर
पनि आफूलाई अख्तियारले फसाएको दाबी गर्न नछाडेका गुप्ताले अब
अख्तियारमाथि आफ्नो मात्रै नभई सबैको विश्वास हटेको दाबी गर्नुभयो ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक गुप्ताले अख्तियार कुनै पार्टी र
व्यक्तको जीवन समाप्त पार्न प्रयोग हुने गरेको बताउनुभयो । अनलाइनखबरसँग
कुरा गर्दै गुप्ताले भन्नुभयो-'अख्तियार एउटा यस्तो निकाय हो, जसमा आफ्नो
खटन-पटन मान्ने मान्छेलाई पठाउन सकियो भने कुनै पनि पार्टीको जीवन समाप्त
पार्न सक्दोरहेछ ।'
लोकमानलाई अख्तियार प्रमुख बनाउनुको कारणबारे बताउँदै गुप्ताले
भन्नुभयो-'लोकमान ल्याउनुको कारण प्रतिरक्षा र प्रत्याक्रमण हो । उनलाई
ल्याउनेहरुले आफ्नो प्रतिपक्षा हुन्छ भनेर ल्याएकाहुन् र अरुलाई
सिध्याइन्छ भनेर पनि ल्याए । प्रचण्डको मात्र हैन, सबैको नियत यही हो ।'
लोकमानलाई पालेको बाघको संज्ञा दिँदै उहाँले उनले आफूलाई नियुक्त
गर्नेहरुको निर्देशन मान्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो- 'यो पालेको
बाघ हो । त्यसैले लोकमानलाई ल्याउनु भनेको बाघ पाल्नु हो । यसले
निर्देशनमा खान सक्छ ।' लडाकू शिविरको भ्रष्टाचारमा प्रचण्डविरुद्ध
अख्तियारमा मुद्दा रहेकै अवस्थामा प्रचण्डले नै सिफारिस गरेका कार्कीले
कारवाही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-'जुन मान्छेउपर
संवैधानिक निकायमा उजुरी परेको छ र छानविन हुनुपर्ने हो र दलहरुले
छानविनको माग गरेका छन्, त्यहाँ उसैको सिफारिसबाट नियुक्त भएकाले उसैमाथि
कसरी कारबाही गर्छ ?'
यसअघिका अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको कार्यकालमा पनि यस्तै भएको
उहाँको दाबी थियो । 'सूर्यनाथ उपाध्यायको समयमा एमालेका ठूला नेताहरुमाथि
पनि उजुरी परेको थियो । तर, कारबाही भएन' उहाँले भन्नुभयो- 'किनभने
सूर्यनाथले उनीहरुको प्रतिरक्षा गरे ।'

No comments:

Post a Comment