Friday, May 17, 2013

मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ! (तस्वीरसहित)

३ जेठ, काठमाण्डौं । मदन भण्डारीको रहस्यमय निधन भएकोधेरै वर्षपछि उहाँको
जीवनीलाई अझै गहिरोबाट नियाल्न कवि अनिल पौडेल गाउँ पस्नुभयो । भण्डारीको
जन्मघर, हुर्केबढेको र खेलेको गाउँ, भूमिगत बेला लुक्ने र पार्टी काममा
लागि हिँड्ने सबै ठाउँ चाहार्नुभयो । १६ महिना लगाएर 'तस्बिरमा मदन
भण्डारी'नामको पुस्तक प्रकाशित भयो ।
पुस्तकका लागि मोरङका गाउँगाउँ पुग्दा पौडेलले भण्डारीलाई माया गर्ने
धेरैजना भेट्नुभयो । उनीहरुका गुनासा र दुखेसो पनि प्रशस्तै थिए । जसलाई
पौडेलले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ :
· यो काम १५ वर्षअघि हुनुपथ्र्यो, कहाँ निदाएको थियौ ?
· किन चाहिएछ पार्टीलाई मदन भण्डारी यतिबेला ?
· एमाले सत्ताबाट फ्याँकिएछ कि क्या हो, मदन भण्डारी पो खोज्दै आयौ त ।
· हैन, हत्यारो चैं पत्ता नलाग्ने नै भो ?
· साँची, मदनका छोराछोरी कति अरे ? केके गर्दै छन् हँ ?
· म त नागरिकताको टोली पो आएको रैछ भन्थें, खत्तम भइगो नि ! आफ्नो सानो काम थिएन ।
· मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ?
· खै, सत्तामा पुगेपछि बिर्सिहाल्छन्, फ्याँकिएपछि दासढुंगाका कुरा
गर्छन् । यो दासढुंगा पनि कहिल्यै नबिर्सिने गीत हुने भो ।
· विद्याको के छ खबर ? चिन्छौ ? ज्यान मार्ने रोग लाग्यो भन्थे । निकी
भइन् पनि भन्थे । यसो गाउँतिर पनि जाऊ अरे भनिदेऊ न है ?
· पार्टीले सुरक्षा गरेको भए त्यत्रो घटनै हुने थिएन । अरुतिर चोरीऔंले
तिखारेर के गर्नु ?
'के साँच्चै तिमी हाम्रो नेतालाई किताबमा लेखेर फर्काइदिन सक्छौ ? भन्ने
प्रश्नमा आफूले मौन सम्मति जनाएर टाउको हल्लाएपछि उनीहरुले काठको दराज
खोले, टिनको बाकस उघारे र भएभरका सामग्रीहरु थुपारिदिए' पौडेलले पुस्तकमा
उल्लेख गर्नुभएको छ ।
मदन भण्डारीलाई होर्डिङ बोर्ड बनाए
मदनलाई नजिकबाट चिनेका र उहाँको जीवनीलाई तस्बिर सहित पुस्तकमा उल्लेख
गरेका पौडेले भन्नुहुन्छ-मदनलाई अहिले पार्टीले होर्डिङ बोर्ड जस्तो
बनाएको छ । 'मदन भण्डारीलाई ठूलो होर्डिङबोर्ड बनाएर त्यसको छायामा
बसिरहेको छ अहिले उहाँको पार्टी' पौडेलले अनलाइनखबरसित भन्नुभयो ।
अहिलेका नेताहरुमा जस्तो मदनमा भूमिगत जीवन र पछिको खुला राजनीतिमा कुनै
परिवर्तन नदेखिएको उहाँको बुझाई छ । 'मदन चाहिँ जुन नर्सरीमा
हुर्कुनुभयो, त्यो नर्सरीबाट ठूलो पार्टीमा आएर नेता हुँदा पनि केही फरक
देखिएन । जे बोल्नुहुन्थ्यो, त्यो गरेको देखियो । आर्थिक रुपमा कसैले
प्रश्न उठाएको देखिएन । व्यवहारिक पक्ष र चरित्रमा समेत कसैले प्रश्न
उठाएको देखिएन । सरलपन देखियो । जनताले जे गर्छन्, त्यसमै भिजिहाल्ने गुण
। जनताले थाहा नपाइकन आफ्नो कुरा सिकाइदिने गुण थियो उहाँमा' पौडेलले
स्मरण गर्नुभयो ।
पौडेलले संकलन गरेका तस्वीरहरू :http://www.onlinekhabar.com/2013/05/71718/

No comments:

Post a Comment