Friday, May 10, 2013

यत्रो पैसा हालेर टिकट किन्छौ भनेपछि मलाई रिस उठ्यो

काठमाडौ, वैशाख २८ - २५ अप्रिल बिहीबार साँझ कार्यालयको काम सकेर भर्खरै
क्याम्पमा पुगेको बेला एउटा ल्यान्डलाइन नम्बरबाट पोखराका डिल्लीराम
पराजुलीलाई फोन आयो, 'बधाई छ, मिस्टर डिल्लीराम । तपाईंले एक मिलियन
अमेरिकी डलर जित्नुभयो ।'
यो खबर एक्कासि सुन्दा डिल्लीराम अक्क न बक्क भए । यो सूचना सुनाउने वा
नसुनाउनेमा आफैंमा अलमलमा परे । 'के गरुँ कसो गरुँ, कसलाई भनौं' जस्तो
भयो । कास्कीको गाउँमा घर भई पोखरामा बस्दै आएका ३७ वर्षीय पराजुलीलाई
यस्तो सूचना त्यति भरपर्दो लागेन । त्यसपछि तत्कालै लक्की ड्र गरेको कतार
डिउटी फ्रीको अफिसियल वेभसाइटमा राखिएको भिडियो हेर्न पुगे । 'जहाँ उनको
खल्तीमा भएको आफ्नो नामसहितको अर्धकट्टी नम्बर १९२२ देखाइरहेको थियो ।
छिनमै डिल्लीराम पराजुलीको नाम लेखिएको एक मिलियनको अमेरिकी डलर (पौने नौ
करोड रुपैयाँ) को चेक सार्वजिनक गरियो ।'
गत फेबु्रअरी १२ तारिख घर बिदामा जाने बेला कतार विमानस्थलस्थित डिउटी
फ्रीमा चिट्ठाको टिकट खरिद गर्ने बेला फिलिपिनी केटीले आफूमाथि गरेको
व्यवहार झल्झली सम्झना गरे । 'म्यानेजरहरूले टिकट लिने गरेकोर कहिल्यै
नपरेको बहस सुन्थें । डिउटी फ्रीबाट बच्चाहरूलाई चक्लेट किनिदिएर जाँदै
थिए,' उनले भने, 'सामुन्ने त्यही चिठ्टाको बिक्री भइरहेको देखें । टिकट
काउन्टरमा बसेकी फिलिपिनीलाई राहदानी देखाएर सोधपुछ गर्दा विश्वासै
गरिनन् । नेपाली भनेर होला, उल्टै तिमीलाई थाहा छ, यसको मूल्य ९ सय ५०
रियाल (२२ हजार ८ सय रुपैयाँ) पर्छ भनेर तर्‍साउन खोजिन् । यत्रो पैसा
हालेर टिकट किन्छौ भनेपछि मलाई मलाई रिस उठ्यो र एक हजार रियाल टेबुलमा
फालिदिएँ ।'
रिसको झोंकमा किनेको टिकटबारे उनले कसैलाई भनेका थिएनन् । घरबाट फर्केको
१० दिनमै उनले चमाकारीपूर्ण खबर पाए । त्यति धेरै रकम तिर्न सक्ने नेपाली
कतारमा काम गर्ने हो वा युरोप-अमेरिकामा काम गर्ने धनी नेपालीले
ट्रान्जिट आएर खरिद गरेको भन्ने विषयमा कतारमा बहसै चलेको पनि थियो ।
डिल्लीराम को वास्तविक विवरण सार्वजनिक नहुँदा पनि यो कुरा रहस्यमयी
बनेको थियो ।
पराजुली कतार आएको ११ वर्ष पुग्यो । यति लामो समयसम्म प्रवासमा बस्दा पनि
आर्थिक रूपमा दरिलो हुन सकेका थिएनन् । 'सानोमा बिहे भयो । भाइबहिनीहरूको
पढाइ, आफ्नो पारिवारिक हेरविचार गर्दागर्दै आधा जीवन बित्यो । धेरै
दुःखका दिनहरू बिताएँ,' विजेता घोषित भएको ११ दिनपछि कतारको मुन्तजा
भन्ने ठाउँमा भेटिएका पराजुलीले भने, 'जीवन अझै व्यवस्थित हुन सकेको छैन
।'
९ वर्षसम्म कतार बसाइ त्यति उपलब्धिमूलक हुन नसकेपछि स्वदेशमै गरिखान
फर्केका थिए । तीन वर्षसम्म स्वदेशमै रहेर पोखरा-सुनौली रुटमा गाडी हाले
। त्यो फस्टाउनुको सट्टा घाटामा गएपछि उनी पुनःकतार आए । पराजुली यहाँ
अल्मनाई कम्पनीमा प्रशासन सहायकको रूपमा कार्यरत छन् । यो पदमा पुगेको
धेरै भएको छैन । सुरुमा त ६ सय ५० रियाल तलबमा मेकानिकाल हेल्परको काम
गर्थे ।
एकजना सामान्य व्यक्ति रातारात सपनामा जस्तो एक्कासि करोडौंको मालिक
बन्दा कस्तो हुँदोरहेछ त ? 'यो मेरो लागि सरप्राइज हो,' उनले भने,
'जिन्दगीमा मलाई लकले फेभर गरेको थिएन । यसपालि भने ५ हजारजनामा आफू
निस्कनु भाग्यको लेखा रहेछजस्तो लागेको छ ।' हुन त त्यो रकम उनलाई हात
लागिसकेको छैन । 'अर्धकट्टी बुझाएको छु । कहिले हस्ताक्षर मिलेन भन्छ,
कहिले बैंकको पत्र, कहिले मुख्य कार्यालयको पत्र माग्ने, कहिले
दूतावासबाट घर-ठेगना र राहदानीको प्रमाणित गरेको पत्र लिएर आइज भन्छ,'
उनले भने, 'एकपछि अर्को प्रक्रिया देखाउँदा म हैरान छु ।'
यो प्रक्रिया सुन्दा र भोग्दा उनी आफैंलाई पैसा पाउने नपाउने विश्वास हुन
सकेको छैन । 'पहिले एक दुई दिनमै आउने रैछ भन्ने लागेको थियो । अहिले ५०
वटा कुरा गर्दाचाहिँ फुल डाउट लाग्न थालेको छ,' पराजुलीले भने, 'अन्य
मान्छेहरूले पनि फोन गरेका छन् भन्दै थिए । काम एकातिर छ । डिउटी एकछिन
छोड्न मिल्दैन ।'
पराजुली 'विजेता घोषित' भएपछि निकै तनावमा छन् । 'दिनहुँ साथीभाइबाट आउने
सयौं कलको जवाफ दिँदा दिँदाथाकिसकेको छु । अर्कोतिर लम्बेतान झन्झटिलो
प्रक्रिया अगाडि छ,' उनले भने, 'तँलाई पर्‍यो होइन । हामीलाई दिनुपर्छ
भनेर लुकाएको भन्छन् । सोधेकै सोध्यै गर्छन् । जवाफ मसँग हुँदैन । अनि
साथीभाइ रिसाउँछन् ।'
पराजुलीले रकम पाइनसकेकोले पैसा केमा लगाउने भनेर योजना बुनेका छैनन् ।
'केही सोचेको छैन । घरपरिवार हेर्नुपर्‍यो । सामान्य परिवारको मान्छे
भएकाले घरपरिवारको सुख शान्ति नै पहिलो प्राथमिकता हो । पैसा आएपछि कहाँ,
कसरी लगानी गर्ने भन्ने सोच्नुपर्ला ।'
यतिखेर उनलाई पहिलेको सामान्य जीवन नै उचित लाग्न थालेको छ । 'नाम आएको
भन्दा नआएको भए हुन्थ्योजस्तो लागेको छ । यति टाउको दुःखाइ छ कि यसको
सीमा नै छैन, एकदमै टेन्सन,' उनले भने, 'हजारजनाको हजारथरी कुरा
सुन्नुपर्छ । केही असुरक्षित पनि महसुस हुन्छ । सोच्दा सोच्दै कहिले त
दिमागै आउट हुन्छ कि जस्तो लाग्छ । यो तनाव लिनुभन्दा बरु पहिलेकै लाइफ
आनन्दकोथियो ।'

No comments:

Post a Comment